आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

बिहिबार, साउन ७ २०८३

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीलाई आज जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

जिल्ला भूमि समस्या समाधान समिति झापाद्वारा अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा झापा क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले लाभग्राहीहरूलाई लालपुर्जा हस्तान्तरण गरिन् ।

कार्यक्रममा बोल्दै सांसद रानाले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत सहयोग पुग्ने उको भनाइ थियो।

जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारको निर्देशिकाअनुसार लगत सङ्कलन, पहिचान, स्थलगत अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेका वास्तविक लाभग्राहीलाई मात्र प्रमाण पुर्जा वितरण गरिएको जानकारी दिए।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरवासीलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको बताउँदै बाँकी योग्य लाभग्राहीलाई पनि क्रमशः पुर्जा उपलब्ध गराइने उल्लेख गरे ।

वडा नम्बर ११ मा यसअघि नै १४४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकिएको छ। नयाँ सूचीकरणअनुसार अर्जुनधाराका ११ वटै वडामा ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित तथा ६ हजार ३५९ अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क छ।

कार्यक्रममा जनप्रतिनिधि, जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।