आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटप्रचार भइरहेको छ : प्रचण्ड

बिहिबार, साउन ७ २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनापछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक तथा भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन्।

प्रचण्डले गणतन्त्रपछिका सकारात्मक उपलब्धिलाई झुटप्रचारमार्फत कमजोर बनाउन खोजिएको दाबी गर्दै भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई समेत अपमानित र अवमूल्यन गरिँदै आएको बताए।

उनले भने, “नेपालमा गणतन्त्र स्थापना भएपछि विकसित भएका धेरै सकारात्मक पक्षमाथि अत्यन्त नकारात्मक ढङ्गले झुटप्रचार गरिएको छ। भौतिक पूर्वाधार क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिलाई पनि अवमूल्यन गरिँदैछ।”

प्रचण्डले पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर मात्र नभई गणतन्त्रका उपलब्धि तथा पुष्पलालको विचारअनुसार भएको परिवर्तनमाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको दिनका रूपमा लिएको बताए।

उनले देशमा प्रतिगामी शक्तिहरू सक्रिय भएको दाबी गर्दै गणतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्न पुनः वैचारिक तथा राजनीतिक अभियान आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध संघर्ष गर्न सक्षम वैचारिक आधार निर्माणका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन–अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।