काठमाडौं । लगातारको वर्षापछि आएको पहिरो, बाढी तथा सडकमा हिलो जमेकाले देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन्।
नेपाल प्रहरीले आज बिहान ९ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामको जोखिमलाई मध्यनजर गर्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खस्दा यातायात ठप्प भएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ भने दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामाबगर–रामेछाप सडकखण्ड सामाकोशी खोलाको कटानका कारण बन्द भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडकखण्डमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्था, मौसमको जानकारी तथा सम्बन्धित निकायका सूचनालाई ध्यानमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।