आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

साउनयता नयाँ बर्डफ्लु सङ्क्रमण छैन, ५० करोडभन्दा बढी राहत वितरण

बिहिबार, साउन ७ २०८३

चितवन । देशभर फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) नियन्त्रणउन्मुख बनेको छ। पशु सेवा विभागले साउन १ गतेयता नयाँ सङ्क्रमण पुष्टि नभएको जनाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा बर्डफ्लु देखिएको थियो। त्यसयता नयाँ सङ्क्रमण नदेखिएको र प्रभावित क्षेत्र आसपासबाट नमुना सङ्कलन गरी नियमित परीक्षण भइरहेको उनले भने।

“अहिले अवस्था नियन्त्रणमा छ। सङ्क्रमण देखिएका क्षेत्र वरपरका नमुनाको परीक्षणलाई निरन्तरता दिएका छौँ,” दाहालले भने ।

विभागका अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पहिलो पटक बर्डफ्लु पुष्टि भएको थियो। त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो। मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा पहिलो पटक रोग देखिएको थियो।

हालसम्म ११ जिल्लामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको विभागको तथ्याङ्क छ। कमर्सियल लेयर्स फार्म सबैभन्दा बढी प्रभावित भएका थिए। साथै प्यारेन्ट स्टक, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत रोग फैलिएको थियो।

काठमाडौं उपत्यका बाहिरका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ। काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये काठमाडौंमा ३२, ललितपुरमा १५, भक्तपुरमा ४५ तथा काभ्रेमा २७ स्थान प्रभावित भएका थिए।

वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ। त्यसैगरी ११ लाख ६५ हजार ६६३ वटा अण्डा र दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।

प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले रु ५२ करोड व्यवस्थापन गरेकोमा हालसम्म १०४ जना किसान तथा फर्मलाई रु ५० करोड ७१ लाख १५ हजार ७०४ वितरण गरिसकेको विभागले जनाएको छ।

देशभरका पन्छी रोग अन्वेषण प्रयोगशालाले परीक्षणलाई तीव्रता दिएका छन्। सरकारी सक्रियता र किसानको सहयोगका कारण रोग नियन्त्रणमा आएको विभागको निष्कर्ष छ। सङ्क्रमण घटेसँगै अण्डा र कुखुराको मासुको खपत बढ्न थालेको छ भने मूल्यमा पनि सुधार देखिएको छ। बर्डफ्लुका कारण मूल्य घट्दा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो।