आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अनुगमनमा कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना

बुधबार, साउन ६ २०८३

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई जरिवाना गरेको छ।

विभागका अनुसार किसु चमेनागृहलाई खरिद बिल–बिजक नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ उल्लङ्घन गरेको आधारमा सोही ऐनको दफा ३८ (घ) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको हो।

यस्तै, काठमाडौँको जडीबुटीस्थित क्याल्मेरा अटाएर प्रालिलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

विभागले हालै गरेको अनुगमनमा कुल १२ वटा फर्म तथा उद्योगको निरीक्षण गरेको थियो। तीमध्ये १० वटालाई सुधारात्मक निर्देशन दिइएको छ भने दुई वटामाथि कारबाही गरिएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार आवश्यक निर्देशन तथा कारबाही गरिएको विभागले जनाएको छ। बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको बिक्री–वितरण रोक्न तथा बिल–बिजक जारी गर्ने व्यवस्था सुनिश्चित गर्न विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।