आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

झापा र पूर्वी पहाडी जिल्लामा १४.७३८ किलोमिटर तटबन्ध निर्माण

मंगलबार, साउन ५ २०८३

भद्रपुर (झापा) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२/८३ मा नदी नियन्त्रण तथा बाढी–कटान न्यूनीकरण कार्यक्रमअन्तर्गत १४.७३८ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गरेको छ।

झापासहित पूर्वी पहाडी जिल्लाका विभिन्न नदीमा निर्माण गरिएको तटबन्धले मानव बस्ती, कृषियोग्य जमिन तथा भौतिक पूर्वाधारलाई बाढी र नदी कटानबाट जोगाउने उद्देश्य राखेको आयोजनाले जनाएको छ।

आयोजनाका इन्जिनियर बलराम भण्डारीका अनुसार नदी नियन्त्रण कार्यक्रमलाई अघिल्ला वर्षदेखि निरन्तरता दिइँदै आएको छ। गत आर्थिक वर्षमा थप १४.७३८ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गरी जोखिम न्यूनीकरणमा महत्वपूर्ण प्रगति हासिल गरिएको उनले बताए।

उनका अनुसार झापाका प्रमुख नदीहरूमा सबैभन्दा बढी तटबन्ध निर्माण गरिएको छ। रतुवा–मावा नदीमा १.८५४ किलोमिटर, कमल नदीमा २.७५० किलोमिटर, कन्काई नदीमा ३.७२५ किलोमिटर, विरिङ नदीमा ३.१३७ किलोमिटर तथा मेची नदीमा १.२०९ किलोमिटर तटबन्ध निर्माण गरिएको छ।

यस्तै, इलामको माई नदीमा १.२९५ किलोमिटर, पाँचथरको हेवा नदीमा ४६९ मिटर र ताप्लेजुङको काबेली नदीमा २९६ मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ। आयोजनाका अनुसार हेवा, काबेली र माई नदीमा गत आर्थिक वर्षदेखि पहिलोपटक नदी नियन्त्रणको काम सुरु गरिएको हो।

तटबन्ध निर्माण तथा नदी नियन्त्रणका यी कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२/८३ मा कुल ५८ करोड ३८ लाख २९ हजार रुपैयाँ खर्च भएको छ। आयोजना कार्यालयले यसलाई नदीजन्य विपद् जोखिम न्यूनीकरणतर्फको महत्वपूर्ण उपलब्धि मानेको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले झापाका ठूला नदीहरूमा केन्द्रित भएर काम गर्दै आएको छ। साथै मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका नदी संरक्षण तथा तटबन्ध निर्माणसम्बन्धी प्राविधिक र प्रशासनिक जिम्मेवारी पनि सोही कार्यालयले सम्हाल्दै आएको छ।

आयोजनाले चालु आर्थिक वर्षमा पनि जोखिम र आवश्यकताका आधारमा नदी नियन्त्रण तथा तटबन्ध निर्माण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।