काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै राजनीतिक नेतृत्व नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका विषयमा सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सुशासन, जवाफदेहिता र पारदर्शितालाई सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।
उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको उल्लेख गर्दै राज्य सञ्चालनमा इमानदारी र उत्तरदायित्वलाई कुनै हालतमा कमजोर हुन नदिइने बताए। मुलुकमा सुशासनको स्पष्ट कार्यदिशा तय भइसकेको र यसमा कुनै सम्झौता नगरिने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले विगतका विकृति र विसंगतिहरूलाई अन्त्य गर्दै कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको बताए। उनले कार्यक्षमता, दक्षता र सामर्थ्यका आधारमा कर्मचारीलाई थप प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी पनि दिए।
उनले भने, “सुशासन र भ्रष्टाचारविरुद्धको हाम्रो प्रतिबद्धता स्पष्ट छ। प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरू नेपाली जनता, आफ्ना राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी छौँ। त्यसैले पुराना विकृति र विसंगतिहरूलाई त्यागेर अघि बढ्नुपर्छ। सक्षम र परिणाममुखी कर्मचारीतन्त्रलाई सरकारले प्रोत्साहन पनि गर्नेछ।”
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा शासकीय सुधारका लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आफ्नो जिम्मेवारी, नैतिकता र कार्यसम्पादनप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए।