ललितपुर । अविरल वर्षापछि ललितपुरको महालक्ष्मीस्थान क्षेत्रमा सडक भासिँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
महालक्ष्मी नगरपालिका–३ स्थित महालक्ष्मीस्थानमा सोमबार सडकको एक भाग अचानक भासिएको हो। सडक भासिएपछि त्यसको छेउमा रहेका फर्निचर उद्योग, क्याफे तथा किराना पसलसमेत जोखिममा परेका छन्।
स्थानीयका अनुसार सडकसँग जोडिएको भित्ता पर्याप्त बलियो नभएकाले सडक भासिएसँगै भित्ता र माटो फर्निचरतर्फ खसेको थियो। घटनाका बेला फर्निचरभित्र छ जना व्यक्ति रहेका थिए। बाहिरबाट ठूलो आवाज आएपछि उनीहरू तत्काल बाहिर निस्किएकाले मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
फर्निचर सञ्चालकका अनुसार फर्निचरमा जडान गरिएका चार वटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेकाले थप क्षति हुन पाएन। ती संरचनाले माटो र ढुंगाको भार रोकेपछि भवन पूर्ण रूपमा क्षतिग्रस्त हुनबाट जोगिएको उनले बताए।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने थप जोखिम रोक्न सम्बन्धित निकायले तत्काल निरीक्षण र सुरक्षाका उपाय अपनाउनुपर्ने माग गरिएको छ। लगातारको वर्षाका कारण भूक्षय र सडक भासिने जोखिम बढेकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।