आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सैनामैनामा २४ घण्टामै १५३ मिलिमिटर वर्षा

सोमबार, साउन ४ २०८३

काठमाडौँ । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैना क्षेत्रमा सबैभन्दा बढी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

विभागकी मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो एक दिनमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। तुलनात्मक रूपमा मधेस प्रदेशमा भने कम वर्षा भएको जनाइएको छ।

महर्जनले पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा नभएको र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जानकारी दिनुभयो। विभागका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा पछिल्लो समय २४ मिलिमिटर वर्षा मापन गरिएको छ।

आज दिउँसो देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने जोखिमप्रति सतर्क रहन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।