चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङस्थित पानीधारा र चुमखोलामा पहिरो खस्दा पृथ्वी राजमार्गअन्तर्गतको सडक खण्ड अवरुद्ध भएको छ। आज बिहान करिब २ः२० बजे पहिरो गएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिरो पन्छ्याउने कार्य तीव्र रूपमा भइरहेको छ। बिहान ९ बजेसम्म सडक खुलाएर यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित डोजरसहितको टोली परिचालन गरिएको उनले जानकारी दिए।
लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आइतबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनको पृथ्वी राजमार्ग क्षेत्रमा सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाएको थियो।
प्रहरीका अनुसार पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड र फिस्लिङ क्षेत्रको यातायात पुनः सञ्चालन गरिनेछ। यद्यपि नारायणगढ–मुग्लिन सडक हुँदै पोखरातर्फ जाने केही सवारीसाधन भने वैकल्पिक व्यवस्थामार्फत सञ्चालनमा रहेको जनाइएको छ।
प्रशासनले यात्रु तथा चालकलाई मौसमको अवस्था र सडकको जोखिमलाई ध्यानमा राखी सावधानी अपनाउन आग्रह गरेको छ।