काठमाडौं । नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित संसदीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको संसदीय विभागको आयोजनामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, पार्टी नीति तथा संसदीय दायित्वबारे जानकारी गराइएको हो।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। त्यस्तै, संसद सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद सचिवालयको काम, कर्तव्य र अधिकारका साथै संसदीय समितिहरूको कार्यक्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे जानकारी गराउनेछन्।
एमाले महासचिव शंकर पोखरेलले पार्टीको नीति, सिद्धान्त तथा सांसदहरूको जिम्मेवारी र भूमिकासम्बन्धी प्रशिक्षण दिने कार्यसूची रहेको जनाइएको छ।
प्रशिक्षणमा प्रत्येक सांसदले पार्टीको नीति र निर्देशनअनुसार संसदमा आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने विषयमा जोड दिइनेछ। साथै, विषयगत मुद्दाहरूमा संसदमा धारणा राख्दा सम्बन्धित पार्टी विभागहरूसँग समन्वय र परामर्श गरेर अघि बढ्नुपर्ने विषय पनि स्पष्ट पारिने एमालेले जनाएको छ।
पार्टीले संसदीय गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र नीतिनिष्ठ बनाउन यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।