काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७, ८ र ९ अन्तर्गतका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाउने काम सम्पन्न भएपछि आइतबार बिहान ७ः४० बजेदेखि सडकमा सवारीसाधन सञ्चालन गरिएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी गाउँपालिका–७ को अमलटारी क्षेत्रमुनि खसेको पहिरो तथा रोशी–९ को पिन्थलीबेँसी क्षेत्रमा जमेको लेदो हटाएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो।
लगातारको वर्षाका कारण पहिरो खस्ने जोखिम अझै कायम रहेकाले सम्बन्धित निकायले चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। यात्रा अघि मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि अनुरोध गरिएको छ।
बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडकमार्ग भएकाले अवरोध हटेसँगै यातायात सेवा पुनः सहज भएको छ।