आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जङ्गली च्याउ खाँदा बिरामी परेकी महिलाको मृत्यु

आइतबार, साउन ३ २०८३

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ मा जङ्गली च्याउ खाएर बिरामी परेकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया दीपा पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गत असार ३१ गते जङ्गलबाट ल्याइएको च्याउ सेवन गर्दा दुई परिवारका सात जना बिरामी परेका थिए। तीमध्ये दुई जनाले घरमै उपचार गरेका थिए भने पाँच जनालाई अस्पताल भर्ना गरिएको थियो।

गम्भीर बिरामी परेकी दीपालाई प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि घोराही रेफर गरिएकोमा अवस्था जटिल बनेपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेका ७५ वर्षीया दशरथी पुन, उनका ३८ वर्षीय छोरा डम्बरबहादुर पुन, ३६ वर्षीय तिलक पुन, पाँच वर्षीय विपीन पुन, १२ वर्षीय विवेक पुन तथा सुमन बुढाथोकी उपचारपछि घर फर्किसकेका छन्।

प्रहरीले वर्षायाममा जङ्गली च्याउ सेवन गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्दै अपरिचित वा पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ। जङ्गली च्याउमा विषाक्त तत्व हुन सक्ने भएकाले यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूको चेतावनी छ।