आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सडक खुलेलगत्तै जलबीरेमा दुई बस ठोक्किए, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

आइतबार, साउन ३ २०८३

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुईवटा यात्रुबाहक बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनापछि ठोक्किएका बस हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेको संख्या र स्वास्थ्य अवस्था भने तत्काल खुल्न सकेको छैन।

लगातारको वर्षा र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्ड बन्द गरेको थियो। जोखिमको पुनः मूल्याङ्कनपछि आइतबार बिहान ६ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो।

सडक खुलेलगत्तै सवारीसाधनको अत्यधिक चाप र लेन मिचेर सवारी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि सडकका दुवैतर्फ लामो सवारी जाम लागेको छ।

सडक डिभिजन कार्यालयले चालकहरूलाई निर्धारित लेनमा रही सीमित गतिमा सवारी चलाउन र विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीले दुर्घटनाग्रस्त बस हटाई सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तथा यातायात व्यवस्थापनलाई सहज बनाउने काम जारी रहेको जनाएको छ।