काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको युगमा पार्टीले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउनुपर्ने, गलत सूचना र भ्रमपूर्ण प्रचारविरुद्ध वैचारिक रूपमा संगठित हुनुपर्ने तथा आफ्नै बलमा अघि बढ्ने सन्देश दिएका छन्।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार गरेको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै अध्यक्ष ओलीले अहिलेको सबैभन्दा ठूलो चुनौती केवल राजनीतिक प्रतिस्पर्धा नभई सूचना, प्रविधि र कथन (न्यारेटिभ) को प्रतिस्पर्धा भएको उल्लेख गरे। उनले सत्यलाई तोडमोड गरी कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाउने प्रवृत्ति समाज र लोकतान्त्रिक संस्कृतिका लागि गम्भीर चुनौती बनेको बताए।
ओलीले सूचना प्रविधिको क्षेत्रमा एमाले अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गर्दै अब पार्टीभित्र डिजिटल क्षमता विकास र कार्यकर्ताको प्रशिक्षणलाई प्राथमिकतामा राखिने बताए। वेबसाइट र मोबाइल एप सञ्चालनमा ल्याउनु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए।
उनले एमालेविरुद्ध विभिन्न माध्यमबाट भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै त्यसको प्रतिवाद तथ्य, सूचना र प्रविधिको प्रभावकारी प्रयोगबाट गरिने स्पष्ट पारे। पार्टीसँग पुनर्जागरण र पुनरुत्थान गर्ने क्षमता रहेको दाबी गर्दै उनले एमाले कुनै पनि राजनीतिक शक्तिको सहारामा नभई आफ्नै सामर्थ्यका आधारमा अघि बढ्ने बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दरबार हत्याकाण्डको प्रसंगसमेत उठाउँदै घटनापछि तत्काल सार्वजनिक गरिएको विवरणलाई ‘तयार पारिएको कथा’ का रूपमा व्याख्या गरे। उनले घटनाको वास्तविकता अझै स्पष्ट हुन नसकेको दाबी गर्दै लामो समयसम्म एउटै कथालाई सत्यका रूपमा स्थापित गरिएको टिप्पणी गरे। युवराज दीपेन्द्रको प्रेम सम्बन्धलाई घटनाको कारणका रूपमा प्रस्तुत गरिएको विवरण पनि षड्यन्त्रको हिस्सा भएको उनको दाबी थियो।
ओलीले अनुकूल अवस्थामा मात्र उत्साहित हुने र प्रतिकूल परिस्थितिमा निराश हुने प्रवृत्ति एमालेको नभएको उल्लेख गर्दै आँधी, हुरी र चुनौतीबीच पनि पार्टी आफ्नै मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले लोकप्रियतावाद, अवसरवाद र सूचना प्रविधिको दुरुपयोगले लोकतान्त्रिक प्रणालीसमक्ष नयाँ चुनौती सिर्जना गरेको बताए। युवा पुस्तालाई डिजिटल माध्यममार्फत पार्टीको वैचारिक धारसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सूचना प्रविधिको सही प्रयोगलाई संगठन सुदृढीकरणसँग जोड्नुपर्ने धारणा राखे।
एमालेले आफ्नो संगठनात्मक गतिविधि, सूचना प्रवाह तथा पार्टीका कार्यक्रमलाई डिजिटल माध्यमबाट थप प्रभावकारी बनाउने उद्देश्यसहित वेबसाइट र मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक गरेको जनाएको छ।