बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

 बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः सञ्चालनमा 

शुक्रबार, साउन १ २०८३

ललितपुर । बर्डफ्लु (एभियन इन्फ्लुएञ्जा) सङ्क्रमण नियन्त्रणमा आएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।

काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो। त्यसपछि सङ्क्रमित पक्षीको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन सम्पन्न गरी वातावरणीय नमुनाको परीक्षण गर्दा एभियन इन्फ्लुएञ्जा भाइरस नदेखिएपछि चिडियाखाना पुनः खोलिएको हो।

चिडियाखाना प्रशासनका अनुसार पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले बिहीबारदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान  १० बजेदेखि बेलुका ४ बजेसम्म  प्रवेशका लागि खुला रहनेछ। अवलोकनकर्ताले भने बेलुका ५ बजेभित्र चिडियाखाना परिसरबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ।

चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गर्न आग्रह गरेको छ। यसअघि सङ्क्रमण देखिएका खोरहरूलाई रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नजान र सुरक्षित दूरी कायम गर्न अनुरोध गरिएको छ।

त्यसैगरी, आफूसँग ल्याएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि फोहर डस्टबिनमा व्यवस्थापन गर्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।