आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

शुक्रबार, साउन १ २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल सहित १६ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विशेष अदालतले जारी गरेको सूचनाअनुसार पौडेलमाथि करिब २० करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोप लगाइएको छ। विभागले पौडेलको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ समेत जफत गर्न अदालतसँग मागदाबी गरेको छ।

विभागले यस मुद्दामा विष्णु पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ। अभियोगपत्र दर्तासँगै अब उक्त मुद्दाको कानुनी सुनुवाइ विशेष अदालतमा अघि बढ्नेछ।

यो मुद्दा व्यवसायी दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममै दायर गरिएको हो। यसअघि पनि भट्टविरुद्ध विभिन्न आर्थिक तथा वित्तीय कसुरसम्बन्धी मुद्दाहरू अदालतमा विचाराधीन रहेका छन्।