काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने र हिलो जम्दा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही स्थानमा जोखिमका कारण निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथमा बुधबार साँझ पहिरो खस्दा अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि बिहीबार बिहानदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यता, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रहरीले जनाएको छ।
यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ स्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार सडक विभागसहित सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक अवरोधको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।