आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तीन महिनामा ३ हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु

शुक्रबार, साउन १ २०८३

काठमाडौं । पछिल्ला तीन महिनामा देशभर विभिन्न प्रकारका विपद्का तीन हजार २९६ घटना हुँदा १६० जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म भएका विपद्का घटनामा दुई जना बेपत्ता, ९४५ जना घाइते तथा चार हजार ३७५ परिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै ८९७ आगलागीका घटना भएका छन्। आगलागीमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्।

यस अवधिमा सर्पदंशका ५१४ घटना दर्ता भएका छन्, जसमा ३८ जनाको मृत्यु, ४७९ जना घाइते र ५१७ परिवार प्रभावित भएका छन्। त्यस्तै, ४७७ वटा हुरीका घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते तथा एक हजार ३५६ परिवार प्रभावित भएका छन्।

पहिरोका ४३३ घटनामा १२ जनाको ज्यान गएको, १५ जना घाइते भएका तथा ३५१ परिवार प्रभावित भएका छन्। चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्।

वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका छन्। बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते र ३९६ परिवार प्रभावित भएका छन्।

त्यस्तै, भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन्। लेक लाग्ने (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ रहेको प्राधिकरणले जनाएको छ।

ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको मृत्यु भएको छ। यसैगरी, तीन महिनामा वन डढेलोका १९१ घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् भने हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, चट्याङ तथा अन्य प्राकृतिक विपद्को जोखिम अझै उच्च रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।