काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले तीव्रता पाएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने योजना अघि बढाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ। मन्त्रालयका प्रशासन तथा संस्थान महाशाखा प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले हालसम्मको प्रगति, आवश्यक तयारी र आगामी कार्ययोजना समेटिएको प्रतिवेदन पेस गरेको हो।
मन्त्रालयका अनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगका पुराना मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाएको छ। सरकारले दिएको निर्देशनअनुसार सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
यसका लागि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा रु ३३ लाख निकासा गरिसकेको छ। उक्त बजेट परीक्षण उत्पादनका प्रारम्भिक कार्यका लागि प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ।
उद्योग सञ्चालनको जिम्मेवारी पाएपछि नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा परिचालन भएको छ। टोलीले उद्योग परिसरको सरसफाइ, आवश्यक कच्चा पदार्थ खरिद तथा मेसिनहरूको मर्मत कार्यलाई तीव्र बनाएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि रु ५० लाख लागत अनुमान तयार गरिएको छ। सोही आधारमा पूर्वाधार विकास मन्त्रालयले भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ। उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको मन्त्रालयले जनाएको छ।
प्रतिवेदनमा तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरी परीक्षण उत्पादन गरिने र त्यसको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई पूर्ण क्षमतामा दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना अघि बढाइने उल्लेख गरिएको छ।
प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले कार्यदलका सुझावका आधारमा तोकिएको समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।