बागलुङ । लगातारको वर्षापछि गएको लेदोसहितको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङ खण्डको सडक अवरुद्ध भएको छ।
जैमिनी नगरपालिका–८ बेलबगरमा सोमबार बिहान पहिरो झर्दा सडकमा क्षति पुगेपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
उनका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि लेदोसहितको पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ।
सडक अवरुद्ध भएपछि बागलुङको दक्षिणी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात सेवा प्रभावित भएको छ। कालीगण्डकी कोरिडोरको यस खण्डमा वैकल्पिक मार्ग नहुँदा यात्रुहरू सडक सञ्चालन नहुँदासम्म बाटोमै रोकिन बाध्य भएका छन्।
प्रहरीले वर्षाका कारण पहिरोको जोखिम कायम रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।