आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संघीय संसदका चार समितिको बैठक आज

सोमबार, असार २९ २०८३

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका चार समितिको बैठक आज बस्दैछ। बैठकहरूमा विकास आयोजना, विधेयक, मानव अधिकार तथा अनुगमन प्रतिवेदनलगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न प्रमुख कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचना तथा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाको प्रगतिबारे छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ। छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरी सहभागी हुनेछन्।

दिउँसो १ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यसैगरी, राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ।