आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज यी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

सोमबार, असार २९ २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही माथि नेपालका तराई क्षेत्र नजिक रहेको छ। यसका कारण देशभर अधिकांश स्थानमा बदली भएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च स्थानमा हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि मनसुनको प्रभाव कायम रहनेछ। कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने तथा कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।