आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको आङ्देम्बेको आरोप, प्रधानमन्त्रीको प्रतिबद्धतामाथि प्रश्न

आइतबार, असार २८ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकको व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन शाहले गरेको सार्वजनिक प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।

आङ्देम्बेले जोखिममा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रधानमन्त्रीको वाचा स्मरण गराउँदै उक्त प्रतिबद्धता कार्यान्वयन नभएको टिप्पणी गरेका छन्।

‘प्रधानमन्त्रीजीले ज्यान जोखिममा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गरिने सार्वजनिक प्रतिबद्धता गर्नुभएको थियो। म सोध्न चाहन्छु, त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’ उनको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ।

उनका अनुसार जोखिमबाट जोगाउने नाममा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी पुनः डुबानको जोखिममा परेपछि सरकारले उनीहरूलाई एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको यथार्थ उजागर भएको छ।

आङ्देम्बेले सुरक्षित आश्रयको आश्वासन पाएका विस्थापित नागरिक अहिले भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच कष्टकर जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै यसलाई राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको उदाहरण बताएका छन्।

उनले होल्डिङ सेन्टरमा पुगेर प्रभावित नागरिकको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोजेका युवा माजिद अन्सारीसहितका व्यक्तिलाई बलपूर्वक नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाएका छन्।

‘लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ?’ भन्दै उनले प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न उठाउने नागरिकमाथि दमन गरेको आरोप लगाए।

आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई सुकुम्बासी नागरिकसँग गरिएको वाचाबारे जवाफ दिन आग्रह गर्दै इतिहासले भाषणभन्दा पनि नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए वा नभएको आधारमा मूल्याङ्कन गर्ने बताएका छन्।