काठमाडौं । ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका युवा तथा स्वयंसेवकमाथि प्रहरीले गरेको भनिएको दमन र गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ।
एलाइन्सले आइतबार विज्ञप्ति जारी गर्दै होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकहरूको अवस्था अनुगमन गर्न पुगेका आफ्ना प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिमाथि प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको तथा स्पष्ट कानुनी आधार वा पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिएको आरोप लगाएको छ।
विज्ञप्तिमा नागरिकको अवस्था अनुगमन गर्नु र मानवीय सहायता उपलब्ध गराउनु कुनै अपराध नभएको उल्लेख गर्दै उक्त घटनालाई लोकतान्त्रिक मूल्य–मान्यता र मानवअधिकारमाथिको प्रहारको रूपमा व्याख्या गरिएको छ।
‘नागरिकको सुरक्षा र अधिकार संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरी संगठन आफैं दमनमा उत्रिनु अत्यन्त चिन्ताजनक र निन्दनीय कार्य हो,’ विज्ञप्तिमा उल्लेख छ।
एलाइन्सले माजिद अन्सारीसहित पक्राउ परेका सबैलाई बिना शर्त तत्काल रिहा गर्न, घटनाको निष्पक्ष छानबिन गरी संलग्न प्रहरी कर्मचारीमाथि कारबाही गर्न, भेला हुन, प्रदर्शन गर्न तथा मानवीय सहायता पुर्याउने नागरिक अधिकारको सम्मान गर्न माग गरेको छ।
साथै, होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारका लागि सुरक्षित आवास, खाद्य सामग्री, स्वास्थ्य सेवा र सरसफाइको तत्काल व्यवस्था गर्न पनि सरकारसँग एलाइन्सले आग्रह गरेको छ।
