आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

युवालाई रोजगारी र पारिश्रमिकसहित प्रशिक्षण विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

शुक्रबार, असार २६ २०८३

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रम विस्तार गर्दै परिणाममुखी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।

बिहीबार मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको अपेक्षा र भरोसा उच्च रहेकाले त्यसअनुसार प्रत्यक्ष परिणाम देखिने गरी काम गर्नुपर्ने बताइन् ।

उनले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै यसै महिनाभित्र प्रत्येक विभाग तथा निकायले आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइन् ।

मन्त्री चौधरीले कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनमुखी र नतिजामुखी ढङ्गले कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् ।

छलफलमा विभागीय प्रमुखहरूले देशभरका आफ्ना कार्यालयमार्फत पारिश्रमिकसहित तथा पारिश्रमिकविहीन प्रशिक्षण र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका थिए। साथै, विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर विद्यार्थीलाई ‘इन्टर्नशिप’ कार्यक्रममा सहभागी गराउने प्रयास भए पनि केही कानुनी व्यवस्थाका कारण त्यसमा पूर्ण रूपमा सफलता प्राप्त हुन नसकेको बताएका छन्।