आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, मृतकको संख्या तीन पुग्यो

शुक्रबार, असार २६ २०८३

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली नदीमा भएको सवारी दुर्घटनापछि बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ। यससँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमै पुगेर शव बुझिसकेका छन्। पहिचान हुनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही स्थानका मेखे तिरुवा तथा रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन्। तीनै जनाको शव आफन्तले सनाखत गरिसकेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त गाडीका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी, उनका सहोदर भाइ तथा सहचालक रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात रहेको छ।

बेपत्ता दुवै दाजुभाइका काका दिल्ली सुवेदीले परिवारका मुख्य सहारा नै दुर्घटनामा परेकाले परिवार, आफन्त र छरछिमेक गहिरो शोकमा डुबेको बताए।

गत बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायले नदी तथा आसपासका क्षेत्रमा बाँकी बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिएका छन्।