काठमाडौं । सरकारले गम्भीर जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई चिकित्सकको सल्लाहअनुसार तत्काल भारत नपठाउने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रारम्भिक चिकित्सकीय सिफारिसका आधारमा नेपालीलाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा थप उपचारका लागि लैजाने सम्पूर्ण तयारी पूरा गरिएको थियो। यसका लागि सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै उपचारको सम्पूर्ण खर्च पनि सरकारी कोषबाट व्यहोर्ने निर्णय गरिसकेको थियो। उद्धार तथा उपचार व्यवस्थापनमा गृहमन्त्री सुदन गुरुङसमेत निरन्तर सक्रिय रहेको जनाइएको छ।
तर हाल वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीलाई अहिलेको अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा थप जोखिम हुने चिकित्सकहरूको निष्कर्षपछि तत्काल भारत नपठाउने निर्णय गरिएको हो।
चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन्।
गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू उपचार व्यवस्थापनका लागि गएरातिदेखि वीर अस्पतालमा तयारी अवस्थामा खटिइरहेका छन्।
बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
हाल उनको उपचार वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा भइरहेको छ। उपचार टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली संलग्न रहेको अस्पतालले जनाएको छ।