आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

देशभर मनसुन सक्रिय, आज कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?

शुक्रबार, असार २६ २०८३

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही माथि रहे पनि आगामी दिनमा बिस्तारै नेपालतर्फ नजिकिने भएकाले वर्षा थप सक्रिय हुन सक्ने अनुमान गरिएको छ।

बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। साथै, पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हल्का हिमपात हुन सक्ने जनाइएको छ।

त्यसैगरी, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थान तथा कर्णालीका पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। यसका कारण नदी–खोला, बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।