आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सभामुखको आग्रह– विरोधको शैली फेरेर सदन सञ्चालनमा सहयोग गर्नुस्

बिहिबार, असार २५ २०८३

काठमाडौं । सभामुख डिपी अर्यालले विपक्षी दललाई विरोधको शैली परिवर्तन गर्दै प्रतिनिधिसभाको बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलले करिब ४० दिनदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएको सन्दर्भमा सभामुख अर्यालले यस्तो आग्रह गरेका हुन् ।

बैठकमा सभामुख अर्यालले एउटै विषयमा विपक्षी सांसदहरूले पटक–पटक धारणा राखिरहेकाले समय र सदनको मर्यादालाई ध्यानमा राख्न आग्रह गरे ।

उनले, “हामी लामो समयदेखि एउटै मुद्दामा विपक्षी बेन्चतर्फका माननीय सदस्यहरूले ध्यानाकर्षण गराइराख्नुभएको छ। सबै जनाको कुरा सुन्दा विषयवस्तु एउटै नै हुन्छ। त्यसकारण सभालाई मर्यादित र समयको ख्याल गर्न विपक्षी बेन्चको तर्फबाट एक जना माननीय सदस्यले बोलेर आजको बैठक अगाडि बढाउन सहयोग गर्न अनुरोध गर्छु,” भने ।

सभामुखले विपक्षीलाई विरोधको सुरुवात गरिएको मूल विषयमै केन्द्रित भएर धारणा राख्न पनि आग्रह गरेका थिए। उनले विपक्षी दलका तर्फबाट एक जना सांसदले मात्र बोलेर बैठकलाई कार्यसूचीमा प्रवेश गराउन प्रस्ताव गरे पनि विपक्षी दलहरू त्यसमा सहमत भएनन्।