काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)माथि तीव्र आलोचना गर्दै उनलाई ‘संसारकै नालायक प्रधानमन्त्री’को संज्ञा दिएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर जनताका प्रश्नको सामना गर्न नसक्ने र जवाफ दिन आवश्यकसमेत नठान्ने गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीले आफूलाई सार्वभौम संसद्भन्दा माथि ठान्ने प्रवृत्ति देखाएको दाबी गरेका छन्।
साम्पाङले लोकतन्त्रको पक्षमा बोल्नेहरू गालीको सिकार हुने र अन्ध समर्थक तथा चाकडी गर्ने समूहकै कारण यस्तो नेतृत्व जन्मिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीभन्दा पनि उनलाई त्यहाँसम्म पुर्याउने समर्थक र जनताले इतिहासको मूल्याङ्कन सामना गर्नुपर्ने उनको भनाइ छ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू समस्यामा पर्दा, आत्महत्यासम्मका घटना हुँदा पनि प्रधानमन्त्रीको प्रशंसा गर्ने समर्थकहरूले विवेक गुमाएको आरोप उनले लगाए। विवेक गुमेपछि मानिस र निर्जीव वस्तुबीच कुनै भिन्नता नरहने उल्लेख गर्दै यस्तै प्रवृत्ति कायम रहे देश नै लिलाम भए पनि त्यसको समर्थन हुन सक्ने खतरा उनले औंल्याएका छन्।
प्रधानमन्त्री शाहको राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि साम्पाङले असन्तुष्टि जनाएका छन्। नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिको आलोचना गर्दै उनले नेपालले आफ्नै भूमि फिर्ता ल्याउनुपर्ने अवस्थामा रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसकेकाले आफूले निरन्तर खबरदारी र विरोध गरिरहेको साम्पाङको भनाइ छ। लोकतन्त्र भनेको जनताको शासन भएकाले विधि र प्रक्रियाको पालना गर्नु पहिलो जिम्मेवारी प्रधानमन्त्रीकै हुने भए पनि उनको कार्यशैली ‘विधि न सिदी’ जस्तो रहेको आरोप उनले लगाएका छन्।
यसैबीच, साम्पाङले आफूलाई आयरल्यान्डसँगको संसदीय मैत्री सम्बन्धको संयोजन गर्ने जिम्मेवारी दिइएको जानकारी पनि दिएका छन्। सो जिम्मेवारीपछि आफूले सबैभन्दा पहिले आयरल्यान्डमा कार्यकारी प्रमुख संसद्प्रति जवाफदेही हुने व्यवस्था छ कि छैन भनेर बुझ्ने बताएका छन्। त्यहाँबाट प्राप्त हुने जवाफ सार्वजनिक गर्ने उल्लेख गर्दै उनले नेपालमा लोकतन्त्रको आवरणमा निरंकुश अभ्यास भइरहेको आरोपसमेत लगाएका छन्।
आफ्नो टिप्पणीको अन्त्यमा साम्पाङले आफ्नो चर्चित शैली दोहोर्याउँदै लेखेका छन्, “जसले जे भनोस्, तर हामी यस्तै त हो नि हो ब्रो।”