काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, मनाङका नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गरिदिने भन्दै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा कण्डेलले जग्गा रोक्का गर्ने प्रक्रियामा घुसका लागि बार्गेनिङ गर्दै विभिन्न बहानामा सेवाग्राहीलाई दुःख–हैरानी दिएको र अन्ततः ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(क) बमोजिमको कसुर ठहर गर्दै ४० हजार रुपैयाँ बिगो कायम गरेको छ। सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबीसहित बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।