आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनसरीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

बिहिबार, असार २५ २०८३

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार गएराति भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा पिकअप चालक मोरङको रंगेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइए पनि उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।

दुर्घटनामा पिकअपमा सवार सिराहाको लहान नगरपालिका घर भई हाल विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन्। प्रहरीका अनुसार उहाँको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।