शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण दोषी ठहर, २३ जनाविरुद्ध अदालतको फैसला (पूर्णपाठ)

बुधबार, असार २४ २०८३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार सुनाएको फैसलाअनुसार खाँणलाई संगठित अपराधमा ‘मतियार’को भूमिका खेलेको ठहर गर्दै दोषी ठहर गरेको हो।

खाँण यसअघि २०८० साल जेठमा मुद्दा दर्तापछि पुर्पक्षका लागि करिब सात महिना थुनामा बसेका थिए। त्यसपछि उच्च अदालत पाटनले २०८० मंसिर २९ गते ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए।

यस प्रकरणमा अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाएको हो। दोषी ठहर भएका सबैको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकिएको छ।

सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते रायमाझी, खाँण, पाण्डेसहित ३० जनाविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो।

अदालतको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री रायमाझी राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर भएका छन् भने खाँणलाई ती कसुरमा मतियार ठहर गरिएको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डे ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका छन्।

यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत किर्ते, ठगी तथा संगठित अपराधमा मतियार बनेको र राज्यविरुद्धको कसुरमा पनि मतियारको भूमिका खेलेको ठहर गरिएको छ। प्रकरणका मुख्य योजनाकार मानिएका सानु भण्डारी र केशव दुलाललाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ।

के थियो अभियोग ?

सरकारी वकिलको अभियोगपत्रअनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट २८ करोड ८१ लाख रुपैयाँ ठगी गरिएको थियो।

अभियोगपत्रमा तत्कालीन गृहमन्त्री, गृहसचिव, सुरक्षा सल्लाहकारलगायतलाई करोडौं रुपैयाँ दिएर आपराधिक समूह विस्तार गरिएको तथा सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापाले समूह सञ्चालनमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरिएको थियो।

सरकारी वकिलले प्रतिवादीहरूमाथि राष्ट्रहितविपरीतको कार्य, संगठित अपराध, ठगी, सरकारी कागजात किर्ते तथा एकीकृत कसुरअन्तर्गत मुद्दा चलाउँदै सात वर्षसम्म कैद, ७० हजार रुपैयाँसम्म जरिवाना तथा पीडितलाई क्षतिपूर्ति भराइदिन माग गरेको थियो।

को–कोले पाए सफाइ ?

अदालतले केही प्रतिवादीलाई भने प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ। सफाइ पाउनेमा टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।

यद्यपि, प्रकरणका बिचौलियाका रूपमा आरोपित बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन्। फरार रहेका प्रतिवादीहरूको हकमा भने मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ।