बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा अझै जोखिम

मंगलबार, असार २३ २०८३

काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु नियन्त्रणमा आएको छ। पशुसेवा विभागका अनुसार पछिल्लो समय ११ जिल्लामा फैलिएको यो सङ्क्रामक रोग सात जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने अझै पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार बर्डफ्लु नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रमा रहेका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गरेर सुरक्षित व्यवस्थापन गरिएको छ।

रोग नियन्त्रण अभियानका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाउँदै अवैध रूपमा भित्र्याइएका पन्छीहरू पनि नष्ट गरेको विभागले जनाएको छ। हाल प्रभावित क्षेत्रमा रोग नियन्त्रणमा आएपछि पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसार क्रमशः खुकुलो बनाइएको छ।

प्रवक्ता उपाध्यायले बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले रोग देखिएका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा आवश्यक जनशक्ति परिचालन गरी नियन्त्रणका कामलाई तीव्र बनाइएको जानकारी दिएका छन्।