सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कम्बोडियामा नेपाल नेत्रज्योति सङ्घको पहिलो निःशुल्क आँखा शिविर, एक हजारभन्दा बढीले पाए सेवा

मंगलबार, असार २३ २०८३

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले पहिलो पटक कम्बोडियामा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्दै एक हजारभन्दा बढी नागरिकलाई उपचार सेवा प्रदान गरेको छ।

सङ्घले नेपालमा ग्रामीण तथा विपन्न समुदायका लागि सञ्चालन गर्दै आएको आँखा उपचार शिविरलाई अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्ने रणनीतिअनुसार कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने शिविर आयोजना गरेको हो।

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहकार्य र थाइल्यान्डस्थित नेपाली राजदूतावास (कम्बोडियासमेत हेर्ने) को समन्वयमा असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा सञ्चालन गरिएको शिविरबाट एक हजार दुई कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सेवा लिनेमध्ये ६४१ महिला र ३६१ पुरुष थिए। शिविरमा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको थियो।

आँखा परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र उनीहरूलाई थप उपचारका लागि स्थानीय अस्पतालमा रिफर गरिएको डा. मिश्रले जानकारी दिए।

शिविरको उद्घाटन नेपालका कम्बोडियाका लागि राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए।

स्वास्थ्य सहकार्य विस्तारमा सहमति

शिविरका क्रममा कम्बोडियाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा तालिम र व्यावसायिक अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ।

शिविरमा प्रा. डा. सुशीला पटेलको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक टोलीले आँखा परीक्षण, उपचार तथा विशेषज्ञ परामर्श सेवा प्रदान गरेको थियो।

यसैबीच, सङ्घका महासचिव भरतबहादुर चन्द नेतृत्वको प्रतिनिधिमण्डलले कम्बोडियाको स्वास्थ्य मन्त्रालय, कम्पोङ चाम प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायसँग आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक सहयोग, क्षमता अभिवृद्धि र संस्थागत साझेदारी विस्तारका विषयमा छलफल गरेको छ।

सङ्घका अनुसार नेपाल र कम्बोडियाबीच सार्वजनिक स्वास्थ्य, आँखा उपचार, चिकित्सा शिक्षा, स्वास्थ्यकर्मीको क्षमता विकास तथा ज्ञान–अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्ष सकारात्मक रहेका छन्।

महासचिव चन्दले यस्तो अन्तर्राष्ट्रिय सहकार्यले नेपाललाई गुणस्तरीय आँखा उपचार, चिकित्सा शिक्षा तथा आँखा स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल नेत्रज्योति सङ्घका अनुसार सन् २०२५ को अन्त्यसम्म सङ्घअन्तर्गत सञ्चालित २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्रमार्फत नेपालसहित विभिन्न देशका गरी पाँच करोड दुई लाखभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरिएको छ भने ५६ लाख ५९ हजारभन्दा बढीको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ।