काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गुप्ताको २०७४ असार २० गते गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको आय–व्यय तथा सम्पत्तिको अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा गुप्ता र उनको एकासगोल परिवारको उक्त अवधिमा वैधानिक स्रोतबाट ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा आम्दानी भएको देखिएको छ। तर बैंक मौज्दात, जग्गा खरिद, घर निर्माण, बैंक ऋण भुक्तानी, अध्ययन खर्च, कम्पनीमा लगानी, शेयर खरिद, बीमा तथा सवारीसाधन खरिदलगायत शीर्षकमा ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको आयोगले जनाएको छ।
आयोगका अनुसार वैधानिक आम्दानीभन्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसा बढी खर्च तथा लगानी भएको र उक्त रकमको वैध स्रोत पुष्टि हुन नसकेकाले सो बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको निष्कर्ष निकालिएको छ।
यस आधारमा आयोगले गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम कैद, बिगो बराबर जरिवाना तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफतको माग गरेको छ। साथै, वार्षिक सम्पत्ति विवरणमा वास्तविक विवरण लुकाई झुट्टा विवरण पेश गरेको आरोपमा दफा १६(२) अन्तर्गत थप कैद, जरिवाना तथा सम्पत्ति जफतको मागसमेत गरिएको छ।
आयोगले गुप्ताका बुबा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई उनीहरूका नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको जनाएको छ।