काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने उद्देश्य नलिएको स्पष्ट पार्दै कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन्। लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएकाले त्यसको संरक्षणप्रति सरकार प्रतिबद्ध रहेको उनले बताए ।
आइतबार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन खोजेको भन्ने आशंका गर्न आवश्यक नरहेको बताए ।
उनले प्रेस स्वतन्त्रता संविधानद्वारा सुनिश्चित गरिएको अधिकार भएकाले त्यसको हनन कसैले पनि गर्न नसक्ने जिकिर गरे। यदि सरकारले संवैधानिक अधिकारको कार्यान्वयनमा अवरोध गरेको भए त्यसको समाधानका लागि संविधान र कानुनले पर्याप्त व्यवस्था गरेको उनको भनाइ थियो।
सञ्चारसँग सम्बन्धित कुनै विषयमा असन्तुष्टि वा फरक धारणा भए सरकार पत्रकार र सञ्चार क्षेत्रसँग खुला संवाद गर्न तयार रहेको मन्त्री तिमिल्सिनाले बताए। कतिपय विषय व्याख्या र बुझाइका कारण फरक रूपमा प्रस्तुत हुन सक्ने भएकाले त्यस्ता विषय छलफलबाट समाधान गर्न सकिने उहाँले उल्लेख गरे ।
सरकार जिम्मेवार हुनुपर्ने विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सरकारबाट कमजोरी वा गैरजिम्मेवारी देखिए त्यसबारे प्रश्न उठाउनु पत्रकारहरूको प्रमुख दायित्व भएको बताउनुभयो। प्रेसले सरकारलाई जवाफदेही बनाउन खेलेको भूमिकाको सरकारले सम्मान गर्ने उनको भनाइ थियो।