सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चितवनमा जंगली हात्तीको आक्रमण : घरमै सुतिरहेका आमाछोराको मृत्यु

आइतबार, असार २१ २०८३

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी एक आमा र उनका चार वर्षीय छोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला जंगली हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।

घटनाका क्रममा हात्तीलाई धपाउने प्रयास गर्दै आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ भने प्रभावित परिवारप्रति स्थानीयवासीले गहिरो दुःख व्यक्त गरेका छन्।