बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ

शनिबार, असार २० २०८३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शुक्रबार नै सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारमध्येबाट उनीहरू नियुक्त भएका हुन् ।

शपथ लिनेमा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयका श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयका सुजनबाबु मरहट्टा रहेका छन्।

शपथ ग्रहणपछि शिक्षामन्त्री पोखरेलले उपकुलपतिहरूलाई निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालय सञ्चालन गर्न निर्देशन दिए। उनले आफ्नो कार्यकाललाई उदाहरणीय बनाउने गरी काम गर्न आग्रह गर्दै सरकार र मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने विश्वास व्यक्त गरे ।

उनले सबै विश्वविद्यालय तथा सम्भव भएका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी रूपमा अनिवार्य कार्यान्वयन गर्न र विश्वविद्यालय तथा क्याम्पसभित्र रहेका ट्रेड युनियनका ब्यानर हटाउन पनि निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्माले नवनियुक्त उपकुलपतिहरूले उच्च शिक्षा क्षेत्रमा सुधार, सुशासन र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको गरिमा, विश्वसनीयता र प्रतिष्ठा कायम राख्दै निर्भीक, इमानदार तथा व्यावसायिक ढंगले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाए। खुला प्रतिस्पर्धामार्फत भएको छनोट प्रक्रियाले आफ्नो मनोबल उच्च बनाएको उल्लेख गर्दै उनीहरूले निर्धारित लक्ष्य र प्रतिबद्धताअनुसार परिणाममुखी ढंगले काम गर्ने विश्वास व्यक्त गरे।