जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको स्थानीय छोटा खर्क पाटनस्थित एनसेल टावर नजिक चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो। उनी भेडा गोठालो गएका बेला उक्त घटना भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चट्याङका कारण केही भेडाबाख्रासमेत मरेका छन्। यद्यपि, क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, चन्दननाथ नगरपालिका–१० स्थित सिद्धि गणेश सामुदायिक वन क्षेत्रमा परेको चट्याङका कारण १२ वटा खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।