काठमाडौं । सरकारले महिलाको सुरक्षित सार्वजनिक आवागमन सुनिश्चित गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा आगामी साउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा आठ वटा बस सञ्चालनमा ल्याइने योजना रहेको छ।
यो सेवा सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सातै प्रदेशमा निःशुल्क सञ्चालन गर्ने कार्यक्रमको पहिलो चरण हो।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा ‘ब्लू बस’ सञ्चालन गर्ने लक्ष्य राखिएको छ। सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय–सुझावका लागि पत्राचार गरिसकेको छ। मन्त्रालयबाट सहमति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा सुरु गरिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछ। रिङरोडमा सञ्चालन हुने चार बसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा गुड्ने मन्त्रालयले जनाएको छ।