सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

इन्धनको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा घट्ने तयारी

बिहिबार, असार १८ २०८३

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा घट्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित मूल्य प्रणालीअनुसार भाडादर समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएपछि सार्वजनिक यातायातको भाडा पुनः समायोजन गर्ने प्रक्रिया अघि बढेको हो।

महासंघका महासचिव डेकनाथ निरौलाले इन्धनको मूल्य बढ्दा र घट्दा दुवै अवस्थामा वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन हुनुपर्ने बताए। उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार स्वचालित मूल्य प्रणाली लागू गर्दै भाडादर निर्धारण गरिनुपर्ने महासंघको माग छ।

यातायात व्यवस्था विभागले पनि वैज्ञानिक भाडा प्रणालीका आधारमा नयाँ भाडादर निर्धारण गर्न आवश्यक प्राविधिक तयारी सुरु गरेको जनाएको छ।

महासचिव निरौलाले विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक प्रणालीअनुसार १३ प्रतिशतसम्म भाडा बढाउनुपर्ने सिफारिस भए पनि ५ प्रतिशत मात्रै समायोजन गरिएको उल्लेख गर्दै त्यसबीच चार पटक इन्धनको मूल्य बढ्दा दुई पटक मात्र भाडा समायोजन भएको बताए।

उनका अनुसार इन्धन, लुब्रिकेन्ट, मर्मतसम्भारलगायतका लागत सूचकका आधारमा नयाँ भाडादर निर्धारण गरिनुपर्नेछ। हालको मूल्य समायोजनपछि सार्वजनिक बसको भाडा १ देखि २ प्रतिशतसम्म घट्न सक्ने भए पनि ढुवानी सवारीसाधनको भाडामा भने परिवर्तन नहुन सक्ने उनले बताए।

अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीको भाडा यातायात व्यवस्था विभागले निर्धारण गर्नेछ भने प्रदेशभित्र सञ्चालन हुने सवारीको भाडादर सम्बन्धित प्रदेश सरकारका यातायात मन्त्रालयले तय गर्नेछन्। यसअघि केही प्रदेशले भाडा वृद्धि नगरेकाले त्यस्ता प्रदेशमा भाडा नघट्न सक्ने महासंघको भनाइ छ।