सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सांसदलाई कानुनमन्त्रीको आग्रह: व्यवहार, भाषा र पोसाकमा पनि मर्यादा देखाउनुपर्छ

मंगलबार, असार १६ २०८३

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्।

मन्त्री गौतमले पछिल्लो समय संसद्को गुणस्तर खस्कँदै गएको भन्ने जनगुनासोप्रति आत्मसमीक्षा आवश्यक रहेको बताइन्। उनले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन जनताका सरोकारका विषयलाई केन्द्रमा राखेर बहस हुनुपर्ने धारणा व्यक्त गरिन्।

उनका अनुसार प्रक्रियागत र प्राविधिक विषयहरू कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलबाट टुंग्याउन सकिन्छ। सदनको समय जनसरोकारका विषयमा मात्रै खर्चिनुपर्नेमा पनि उनले जोड दिइन्।

जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र त्यही स्रोतबाट संसद्को खर्च व्यवस्थापन हुने भएकाले सांसदले सदनमा पाएको प्रत्येक मिनेट अर्थपूर्ण हुनुपर्ने मन्त्री गौतमको भनाइ थियो।

उनले संसद्को मर्यादा, गरिमा र विश्वसनीयता कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिबद्धता पनि व्यक्त गरिन्।