सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काभ्रेमा बर्डफ्लु फैलियो, ४० हजारभन्दा बढी हाँस–कुखुरा नष्ट

मंगलबार, असार १६ २०८३

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमण फैलिँदै गएपछि हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ।

जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही सातायता व्यावसायिक पोल्ट्री फार्ममा कुखुरा धमाधम मर्न थालेपछि सङ्क्रमण पुष्टि भएका फार्मका हाँस र कुखुरा नष्ट गरिएको हो।

वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएको छ। मरेका कुखुरा र हाँसलाई खोला, झाडी तथा खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण कागलगायत जङ्गली चरामार्फत रोग थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको उनले बताए।

उनका अनुसार सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन र कुखुरा ओसारपसारमा कडाइ गरिएको छ। तर प्रयोगशालाको परीक्षण नतिजा ढिलो आउँदा प्रदेश र स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमण बढेको देखिएको छ।

डा. ठाकुरले पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्न, खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नुपरे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा सरसफाइका सबै मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

यसैबीच, जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिनाका तथा अवैध रूपमा ओसारपसार हुने कुखुरामाथि निगरानी र नियन्त्रण कडा पारिएको छ।

यसअघि गत चैतमै देशका विभिन्न स्थानमा बर्डफ्लु देखिएपछि काभ्रे र सिन्धुपाल्चोकमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो।