काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ गर्दै र दही–चिउरा खाएर उल्लासका साथ मनाइँदैछ। धान रोपाइँको व्यस्ततापछि किसानले शरीरलाई शीतलता र ऊर्जा प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ।
असार १५ लाई नेपाली समाजमा ‘दही–चिउरा खाने पर्व’का रूपमा पनि विशेष महत्व दिइन्छ। कृषिमा संलग्न किसानमात्र नभई विभिन्न पेसा, व्यवसाय र सेवामा आबद्ध नेपालीहरूले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने गर्छन्।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। कुनै पनि शुभकार्य, यात्रा वा महत्त्वपूर्ण काममा निस्कनुअघि दही–अक्षता लगाउने र सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने परम्परा अझै पनि कायम छ। दही खाएर यात्रा सुरु गर्दा शुभ साइत पर्ने जनविश्वास रहँदै आएको छ।
वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। यसले पाचन प्रणालीलाई सुदृढ बनाउने, शरीरमा आवश्यक लाभदायक जीवाणु (प्रोबायोटिक्स) उपलब्ध गराउने तथा शरीरलाई शीतलता प्रदान गर्ने विश्वास छ। आयुर्वेदमा पनि भोजनपछि दहीबाट बनाइएको मोही सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिएको छ। ‘भोजनान्ते पिबेत् तक्रं, वैद्यस्य किं प्रयोजनम्’ भन्ने आयुर्वेदिक उक्ति यसैसँग सम्बन्धित छ।
लोकविश्वासअनुसार गुरु गोरखनाथले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहलाई दही खुवाएर पराक्रमी हुने आशीर्वाद दिएको कथासमेत प्रचलित छ।
दही–चिउरा पखालाजस्ता सामान्य स्वास्थ्य समस्यामा पनि उपयोगी मानिने भएकाले यसको सांस्कृतिकसँगै स्वास्थ्यसम्बन्धी महत्व पनि रहेको छ। यही कारण असार १५ धान रोपाइँको पर्व मात्र नभई नेपाली संस्कृति, परम्परा र खानपानसँग जोडिएको राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ।