काठमाडौं । पत्रकार विनोद ढकालको पक्राउविरुद्ध नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले आपत्ति जनाएको छ । क्यानडा नेपाल डटकममा कार्यरत पत्रकार ढकाललाई साइबर अपराध मुद्दामा प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो।
पत्रकार ढकालले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिविरुद्ध आफ्नो फेसबुकमार्फत विभिन्न टिप्पणी तथा सामग्री प्रकाशित गरेका थिए । उक्त सामाग्री प्रकाशित गरेकै आधारमा ढकालविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरीमा जाहेरी दर्ता भएको थियो ।
सोही जाहेरीअनुसार सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन गर्दै ढकाललाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।
उक्त पक्राउविरुद्ध नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले आपत्ति जनाउँदै आज एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो । विज्ञप्तिमा पत्रकारले लेखेको समाचार तथा त्यससँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिएको सामग्रीलाई आधार बनाएर साइबर अपराध मुद्दा लगाइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको भन्दै आपत्ति जनाएको छ ।
साइबर क्राइम मुद्दामा पक्राउ परेको व्यक्तिको घर–कोठा खानतलासी लिने जस्ता कार्यप्रति महासंघ, उपत्यका प्रदेशले आपत्ति जनाएको छ ।
‘यो पत्रकारिता क्षेत्रलाई नै आतंकित पारेर शासकहरु स्वेच्छाचारी हुन चाहेको घटनाका रूपमा हामीले लिएका छौं’,विज्ञप्तिमा भनिएको छ ।
समितिले पत्रकार ढकाललाई तत्काल रिहा गर्न माग गर्दै पत्रकारिता पेशामाथि आकर्षित हुने कानुनका विषयमा सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।