चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुने भएको छ। प्राविधिक कारणले एक दिन पछाडि सारिएको बन्दसत्रका लागि आज बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिएको छ।
यसअघि सोमबार बिहान ८ः३० बजेदेखि बन्दसत्र सञ्चालन गर्ने तालिका भए पनि महाधिवेशन प्रतिनिधिको नामावली रुजु तथा परिचयपत्र छपाइको काम सम्पन्न हुन नसकेपछि कार्यक्रम स्थगित गरिएको थियो।
पार्टीका प्रवक्ता मनिष झाले परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र औपचारिक रूपमा सुरु गरिने जानकारी दिए। महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रतिनिधि व्यवस्थापनमा कुनै विवाद नआओस् भन्ने उद्देश्यले आवश्यक प्रक्रिया पूरा गर्न समय लागेको उनको भनाइ छ।
रास्वपाले सातै प्रदेश तथा समायोजन र प्रवासतर्फका प्रतिनिधिका लागि छुट्टाछुट्टै वितरण केन्द्रमार्फत परिचयपत्र उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ। सोमबार साँझदेखि नै कार्ड वितरण सुरु गरिएको र बाँकी कार्ड आज बिहानदेखि वितरण भइरहेको पार्टीले जनाएको छ।
बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथि विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सुरुमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल हुनेछ।
त्यसपछि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सहमहामन्त्रीमार्फत पार्टी विधानमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढाइनेछ।
विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। उक्त प्रतिवेदनमाथि छलफल र अनुमोदनपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिने तथा आयोजक समितिले निर्वाचन प्रक्रियाको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यतालिका रहेको छ।
निर्वाचन आयोगले त्यसपछि निर्वाचन प्रक्रियासम्बन्धी विस्तृत जानकारी र निर्वाचन तालिका सार्वजनिक गर्नेछ।
आइतबार चितवनको गेष्टहाउस चौरमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भने उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।