सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा हिटवेभको जोखिम

मंगलबार, असार ९ २०८३

काठमाडौं । देशका विभिन्न क्षेत्रमा मनसुनी वायु सक्रिय रहेकाले आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनी प्रभाव कायम रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

तराई क्षेत्रमा पनि वर्षाको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ) को अवस्था कायम रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत तातो दिनको प्रभाव जारी रहने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले वर्षा, चट्याङ र तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।