काठमाडौं । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को अमेरिकामा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार अमेरिकी समयअनुसार शनिबार बेलुका करिब ८ बजे बाल्टिमोरस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
कलाकार तथा मोडल मनिष शर्माले खेम शर्माको उपचारका क्रममा निधन भएको जानकारी दिएका छन्। उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई टाउसनस्थित अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारका लागि फ्यांकलिन स्क्वायर अस्पतालमा रिफर गरिएको थियो, जहाँ उनको निधन भएको हो।
खेम शर्मासँग विभिन्न टेलिशृंखलामा सहकार्य गरेका कलाकार शिवहरी पाैडेलले पनि सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका छन्। उनले खेम शर्मालाई असल मित्र र प्रतिभाशाली कलाकारका रूपमा स्मरण गरेका छन्।
लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका खेम शर्माले नेपाली हास्य अभिनय क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनले विभिन्न चलचित्र, टेलिफिल्म तथा हास्य शृंखलामा अभिनय गरेका थिए।
उनले अभिनय गरेको चर्चित हास्य टेलिशृंखला ‘चतुरेको दाउपेच’ विशेष रूपमा लोकप्रिय बनेको थियो। सोही शृंखलामार्फत ‘चतुरे’ नामले परिचित बनेका शर्मा नेपाली दर्शकमाझ निकै रुचाइएका कलाकार थिए।
उनको निधनले नेपाली कला तथा मनोरञ्जन क्षेत्रले एक अनुभवी हास्य कलाकार गुमाएको छ।